
संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रि मोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ सोमबार पाँच वटा खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा मुलपानी एफसीलाई ६-० गोलअन्तरले पराजित गर्दै फोम्बो आवाजुङ कल्याण समाज विजयी बन्यो । जसमा सन्त लिम्बू, सुशिल लिम्बू र दिपेश लिम्बूले समान २-२ गोल गरे ।
दोस्रो खेलमा महादेव आविलाई ४-१ गोलअन्तरले पराजित गर्दै आठराई गाउँपालिकाको टिम विजयी भयो । महादेव आविका छिरिङ शेर्पाको आत्मघाती गोलको उपहारबाट अग्रता पाएको आठराईले निरन्तर दबाबमा राख्यो ।
दिपक पाहिम, अर्जुन लिम्बू, सुबात लिम्बूले आठराई गाउँपालिकाका लागि गोल गरे भने विवेक विकले मात्र महादेव आविका लागि सान्त्वना गोल गरेका हुन् ।
यसैगरी, तेस्रो खेलमा चुहानडाँडा ६ ले इवा खेलकुद विकास समितिलाई १-० गोलको झिनो अन्तरले पराजित गरेको छ । उसका लागि बसन्त लिम्बूले गरेको प्रहार शक्ति लिम्बूलाई लाग्दै गोल भएको थियो ।
यस्तै, आजै भएको चौथो खेलमा लुङछुता क्लब छातेढुंगाको आत्मघाती गोलको उपहारबाट मितेरी क्लब विजयी भयो । छातेढुंगाका सन्जिप राईलाई बलले आफ्नै गोलपोस्टको जाली चुमेपछि टोली निराश बनेको थियो ।
आजको अन्तिम खेलमा लाफा क्लब इवा र हुक्पा चोङबाङ कल्याण संघ खाम्लालुङले निर्धारित समय गोलरहित बराबरी खेले । खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खाम्लालङ ५-४ गोलअन्तरमा विजयी बन्यो ।
मंगलबार दुई वटा खेल हुने आयोजकले जनाएको छ । २०१५ सालदेखि लाग्दै आएको मदन मेलामा पुरुषतर्फ २७ टोली र महिलातर्फ ६ टोली सहभागी रहेका छन् । पुरुषतर्फको विजेताले नगद २ लाख र महिलातर्फको विजेताले ८० हजारसहित रनिङ ट्रफी प्राप्त गर्नेछ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने