बागमती । सर्लाहीमा जारी चौथो राजर्षि जनक कपको अन्तिम क्वाटरफाइनलमा बिहीबार जावलाखेल युथ क्लबले युके एफसी दार्जिलिङलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
खेलमा जावलाखेलका लागि एक गोल गर्ने खेलाडी थिए रुप बहादुर लामा । लामा खेलको म्यान अफ द म्याच समेत चुनिए । त्यसवापत उनले नगद दश हजार र एक जोर फुटबल बुट हात पारे ।
तर, म्यान अफ द म्याच बनेका लामा त्यति मै रोकिएनन् । उनले त्यसवापत प्राप्त गरेको फुटबल बुट बागमती युवा क्लब कै एक महिला खेलाडीलाई सहयोग स्वरुप हस्तान्तरण गरे ।
त्यो सहयोग गरेका लामा खुशी र आफैमा दंग थिए । लामाका अनुसार फुटबल खेलेर पहिलोपटक सानो भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
लामा भन्छन्, "सानोमा फुटबल बुट किन्ने हैसियत नहुँदा म आफै पनि खाली खुट्टा खेलेको याद छ । मेरो सहयोग सानो होला, तर यसले फुटबलमा लाग्न चाहने भाई–बहिनीहरुलाई पक्कै पनि हौसला मिल्नेमा म विश्वस्त छु ।"
साथै उनले आफ्नो यो सहयोगले फुटबलमा लाग्न चाहने अरु भाई–बहिनीहरुलाई पनि अन्य खेलाडी साथीहरुले सानो वा ठूलो सहयोग गर्न अघि सर्नेछन् भन्ने भरोसा लिएको समेत बताए ।
स्मरणीय छ, बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको आयोजनामा जारी चौथो राजर्षि जनक कपको सेमिफाइनलमा जावलाखेलले कंचनजंगा एफसी, भारतसँग खेल्नेछ ।
चैत्र २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न