मुर्गिया । सैनामैना वार्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ४ ले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ११ लाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
मुर्गिया फुटबल मैदानमा भएको उपाधि भिडन्तमा वार्ड नम्बर ४ ले आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । वार्ड नम्बर ११ का अनमोल भुषालले गल्तीवश आफ्नै पोष्टमा गोल गर्न पुग्दा वार्ड नम्बर ४ ले खेलमा अग्रता लिएको थियो ।
यद्यपि वार्ड नम्बर ११ का लागि पहिलो हाफ मै सुरज थारुले सुन्दर फ्रिकिक गोलबाट खेललाई १–१ को बराबरीमा ल्याएका थिए । रोमाञ्चक खेलको दोस्रो हाफतर्फ वार्ड नम्बर ४ का रामकृपाल यादवले दोस्रो तथा निर्णायक गोल गर्दै वार्ड नम्बर ४ को जित पक्का गरेका थिए । विजेता बनेको वार्ड नम्बर ४ ले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता वार्ड नम्बर ११ ले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
वार्ड नम्बर ४ का प्रितम कार्की सर्वोत्कृष्ट खेलाडी

व्यक्तिगत विधातर्फ विजेता टोली वार्ड नम्बर ४ का प्रितम कार्की सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ४ कै राकेश गुरुङ बन्दा उत्कृष्ट डिफेन्डरको पुरस्कार पनि वार्ड नम्बर ४ का अभिषेक धिमालले जिते । त्यस्तै उत्कृष्ट मिडफिल्डर र फरवार्ड वार्ड नम्बर ११ का क्रमशः सुरज थारु र दिपेन सेन ठकुरी घोषित भए ।
फाइनल खेल कै दिन सैनामैना नगर खेलकुद समिति र सैनामैना नगरपालिकाका कर्मचारीहरुबीच पनि मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको थियो । जसमा नगर खेलकुद समिति २–० ले विजयी बन्न सफल भएको थियो । सोही अवसरमा सैनामैना मेयर कप क्रिकेट प्रतियोगिता तथा अन्य खेलकुदतर्फका विजेता खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मा, कार्यक्रम संयोजक तथा सैनामैना नगर खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठ, सचिव डि.आर.घिमिरे, सदस्य ममता बुढाथोकी लगायतले पुरस्कृत गरेका थिए ।
सैनामैना नगर खेलकुद समिति, रुपन्देहीको आयोजना तथा सैनामैना नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा सैनामैना नगरका कुल ११ वार्डका फुटबल टोलीहरुले सहभागिता जनाएको खेल संयोजक सन्तोष मल्लले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने