News विश्वकपमा समूह चरणका अन्तिम चार खेलहरु आज
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी कतार विश्वकपको समूह चरणको खेलहरु आज समापन हुँदैछ । समूह चरणको अन्तिम दिनमा शुक्रबार पनि चार खेलहरु हुँदैछन् ।

समूह जी तर्फ सर्बियाले स्वीजरल्याण्डसँग खेल्दा सोही समूहमा रहेको बलियो ब्राजीलले क्यामरुनको सामना गर्नेछ । समूह जी बाट ब्राजील नकआउट चरणमा प्रवेश गरिसकेको छ । साथै ब्राजीलबाहेक समूह जी बाट अन्य तीनै टोलीहरुको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।

दोस्रो स्थानमा रहेको स्वीजरल्याण्डको ३ अंक छ । उसले आज सर्बिया विरुद्ध जित वा बराबरी गरे पनि नकआउट चरणमा पुग्ने तय छ । यद्यपि स्वीस टोलीले बराबरी खेले अर्को खेलमा ब्राजीलले क्यामरुनलाई पनि हराउनु पर्नेछ । यो अवस्थामा स्वीस टोली सर्बियासँग बराबरीमा रोकिए पनि नकआउट चरणमा पुग्नेछ ।

तर क्यामरुनले ब्राजीललाई पराजित गरे र स्वीजरल्याण्डले सर्बियासँग बराबरी खेले गोल भिन्नताका आधारमा टोलीको टुंगो लाग्नेछ । यो समूहमा क्यामरुन र सर्बियाको समान १–१ छ । साथै यी दुई टोलीले पनि आफू अनुकुल नतिजा निकाल्न सके नकआउट चरणमा प्रवेश गर्ने सम्भावना यथावत छ ।

स्वीजरल्याण्ड र सर्बिया बीचको खेल दोहा स्थित स्टेडियम ९७४ मा हुनेछ । त्यस्तै ब्राजील र क्यामरुनबीचको खेल लुसैल आइकनिक स्टेडियममा हुनेछ । दुवै खेलहरु नेपाली समयअनुसार राती १२ः४५ बजेदेखि शुरु हुनेछन् ।

समूह एचको समिकरण पनि उस्तै

समूह एचमा पनि नकआउट चरणमा पुग्ने समिकरण समूह जी कै जस्तो छ । समूह जी बाट ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ । ३ अंक जोडेको घाना दोस्रो स्थानमा छ भने दक्षिण कोरिया र उरुग्वेको समान १–१ छ ।

समूह एच तर्फका खेलहरु नेपाली समयअनुसार राती ८ः४५ बजेदेखि शुरु हुँदैछन् । जहाँ पोर्चुगलले दक्षिण कोरियाको सामना गर्दा घाना र उरुग्वे पनि आमने सामने हुनेछन् । पोर्चुगलबाहेक यो टोलीमा घाना, दक्षिण कोरिया र उरुग्वे तीनै टोलीहरु आफू अनुकुलको नतिजा ल्याउन प्रयासरत रहनेछन् ।

आज हुने यी चारखेलहरुबाट नै कतार विश्वकपको नकआउट चरणमा पुग्ने अन्तिम दुई टोलीहरुको टुंगो लाग्नेछ । साथै नकआउट समिकरण पनि पूरा हुनेछ ।

Post Comments