ललितपुर । ललितपुर जिल्ला ललितपुर महानगरपालिका सुनाकोथीमा अवस्थित सुनाकोथी स्पोर्टिङ क्लबको 7A side फुट्सल मैदानमा लक्की स्टार युथ क्लबको आयोजनामा जारी ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय रातो मछिन्द्रनाथ कप लिग कम नकआउट प्रतियोगिता अन्तर्गत शुक्रबार प्री क्वाटर फाइनल र क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन्।
सहभागी ४१ विद्यालयहरूलाई १६ वटा ग्रुपमा विभाजन गरी हरेक समूहको विजेता र उपविजेता प्रतियोगिताको राउन्ड अफ ३२ यानिकी नकआउट चरणमा प्रवेश गरेका थिए।
प्री क्वार्टरफाइनलको पहिलो खेलमा दीपमाला स्कुलले रिजेन्ट रेसिडेन्टल स्कुललाई ४-१ गोल अन्तरले पराजित गरी क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो। उक्त खेलमा दीपमाला स्कुलका रेशम थिङ प्लेयर अफ द म्याच चुनिए। दोस्रो प्री क्वाटरफाइनलमा युनाइटेड स्कुललाई २-१ गोलको नतिजामा पराजित गर्दै ब्लोम नेपाल पनि क्वार्टर फाइनल प्रवेश गरेको हो। उक्त खेलमा ब्लोम नेपालका आइज्याक शाही दुई गोल गर्दै म्यान अफ द म्याच सावित भए। त्यसैगरी तेस्रो प्री क्वार्टर फाइनलमा पवन प्रकृति स्कुललाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै जन उदय स्कुल अन्तिम आठमा प्रवेश गर्न सफल भयो । निर्धारित समय दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए भने पेनाल्टी सुटआउटमा ३-२ को नतिजामा जन उदयले जित निकाल्दा बिजेता टोलीका मनोज सिंतान म्यान अफ द म्याच सावित भए।
चौथो प्रि-क्वाटरफाइनल श्री महेन्द्र आदर्श स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै सोमाङ एकेडेमी क्वार्टरफाइनल प्रवेश गर्दा सोमाङका प्रकाश न्यौपाने प्लेयर अफ द म्याच घोषित भए। त्यसैगरी पाँचौँ प्रि-क्वाटरफाइनल खेलमा बज्र एकेडेमीलाई दुई एक गोलन्तले पराजित गर्दै ल्यान्डमार्क एकेडेमी अन्तिम आठमा प्रवेश गर्यो। उक्त खेलमा ल्यान्डमार्कका संगम कार्की म्यान अफ द म्याच सावित भए।
त्यसैगरी छैठौँ प्री क्वार्टर फाइनलमा श्री रुद्रायानी स्कुल विरुद्ध वाकओभर पाउँदा मञ्जुश्री स्कुल सिधै अन्तिम आठमा पुग्यो। सातौं प्रि क्वाटरफाइनलमा माउन्ट ओलिभ स्कुललाई १-० को साँघुरो नतिजामा पराजित गरी सहित धर्मभक्त स्कुल क्वार्टर फाइनलमा प्रवेश गर्यो। उक्त खेलमा सहिद धर्मभक्तका मन्दिप राई नायक साबित भए। त्यसैगरी अन्तिम प्रि क्वाटर फाइनलमा ललितपुर माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गरी ब्राइट फ्युचर स्कुल आठमा प्रवेश गर्ने अन्तिम टोली बनेको थियो।
प्रतियोगिताका क्वाटर फाइनल खेलहरू पनि शुक्रबार सम्पन्न भएका छन्। हरेक टोलीले दुई दुई म्याच खेल्नु परेको थियो।
प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा गत संस्करणको उपविजेता श्री जन उदय सेकेन्डरी स्कुललाई ३ का विरुद्ध ५ गोल गरी दीपमाला माध्यमिक विद्यालय सेमीफाइनल प्रवेश गर्यो। उक्त खेलमा दीपमालाका रेशम थिङ प्लेयर अफ द म्याच बनेका हुन। त्यसैगरी दोस्रो क्वार्टरफाइनलमा सोमाङ एकेडेमीलाई २-० गोल अन्तरले पराजित गरी ब्लोम नेपाल सेमीफाइनल प्रवेश गर्ने दोस्रो टोली बन्यो उक्त खेलमा ब्लोम नेपालका आइज्याक शाही पुन: म्यान अफ द म्याच सावित भए।
त्यसैगरी तेस्रो क्वार्टरफाइनलमा ल्यान्डमार्क एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गरी सहिद धर्मभक्त स्कुल सेमीफाइनल प्रवेश गर्ने तेस्रो टोली बन्यो। उक्त खेलमा सहिद धर्मभक्तका मन्दिप राई पुनः म्यान अफ द म्याच बन्न सफल भए। त्यस्तै अन्तिम क्वार्टरफाइनलमा ब्राइट फ्युचर स्कुललाई २-१ गोलन्तरले पराजित गरी मञ्जुश्री इङ्लिस बोर्डिङ स्कुल सेमीफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो।
शनिबार प्रतियोगिताको सेमिफाइनल अन्तर्गत पहिलो खेलमा दीपमाला स्कुल र सहिद धर्मभक्त स्कुल दिनको ठिक ११ बजे प्रतिस्पर्धा गर्नेछन् भने ब्लोम नेपाल र मञ्जुश्री बोर्डिङ स्कुल दिनको ठिक ११:३० बजे प्रतिस्पर्धा गर्नेछन्।
स्मरण रहोस् प्रतियोगिताको तेस्रो स्थानको खेल र फाइनल खेल पनि शनिबारनै हुने तय निश्चित छ।