News
१० दिनमै बिर्तामोड च्यालेञ्ज कपको हिसाब सार्वजनिक
बिर्तामोड । गत जेठ अन्तिम साता आयोजना गरिएको दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रतियोगिताको हिसाब आज सार्वजनिक गरिएको छ । प्रतियोगिता सकिएको १० दिनमै हिसाब सार्वजनिक गरिएको हो ।
बिर्तामोड युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगितामा कुल खर्च १० लाख १६ हजार ६५१ रुपैयाँ भएको आर्थिक संयोजक आशिष चापागाईंले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न आश्वासन दिइएको २ लाख ८५ हजार २५० रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ । अहिले ४८ हजार ६२९ रुपैयाँ अपुग रहेको छ ।
बाँकी रहेको रकम प्राप्त भएपछि क्लबले २ लाख ३६ हजार ६२१ रुपैयाँ क्लबसँग बचत रहने प्रतियोगिता संयोजक अनिष सुवेदीले बताए । जेठ २४ गतेदेखि ३१ गतेसम्म आयोजित प्रतियोगितामा झापा र मोरङ ८ टिमको सहभागिता रहेको थियो भने अर्जुनधाराको शनिश्चरे एफसी च्याम्पियन बनेको थियो ।
क्लबले आगामी दिनमा पुरुषसँगै महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने सहसचिव न्यूटन लाम्गादेले जानकारी दिए । प्रतियोगिता सञ्चालनका दौरान समुन्द्र माझी बचाउन अभियानलाई नगद १५ हजार र डोमालाल राजवंशीकी नातिनी सम्पती राजवंशीलाई नगद १० हजार प्रदान गरिएको थियो ।
Post Comments