मिक्लाजुङ । प्रथम मिक्लाजुङ अध्यक्ष अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत सम्पन्न पहिलो सेमीफाइनल खेलमा उर्लाबारी नगरपालिकाले आयोजक मिक्लाजुङ गाउँपालिकाको टोलीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
मिक्लाजुङ गाउँपालिका–४ स्थित सफेवा खेलमैदानमा सम्पन्न खेलमा उर्लाबारीले आक्रामक सुरुआत गर्यो। खेलको तेस्रो मिनेटमै कृषल थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। निरन्तर प्रभावशाली प्रदर्शन गरेका कृषल थापा खेलका ‘म्यान अफ द म्याच’ घोषित भए।
पहिलो हाफको ३६औँ मिनेटमा समीर तामाङले फ्रीकिकमार्फत दर्शनीय गोल गर्दै उर्लाबारीको अग्रता २–० मा पुर्याए।
दोस्रो हाफमा आयोजक टोलीले दबाब सिर्जना गर्ने प्रयास गरे पनि उर्लाबारीको सुदृढ रक्षापंक्ति र अनुशासित खेलका कारण थप गोल हुन सकेन। निर्धारित समय सकिँदा उर्लाबारी नगरपालिका प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको हो।
प्रतियोगिताअन्तर्गत भोलि दोस्रो सेमीफाइनल खेल कानेपोखरी गाउँपालिका, मोरङ र पथरी शनिश्चरे नगरपालिका, मोरङबीच हुनेछ। सो खेलको विजेता टोलीले माघ २५ गते हुने फाइनल खेलमा उर्लाबारी नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
मिक्लाजुङ यूथ क्लब, मिक्लाजुङ गाउँपालिका–४, मोरङको आयोजनामा माघ १८ गतेदेखि सञ्चालन भइरहेको यस प्रतियोगितामा विजेता टोलीले उपाधिसहित नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
विधागत पुरस्कारतर्फ सर्वश्रेष्ठ खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड तथा उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा