News उत्कृष्ट जितका साथ उर्लाबारी भेट्रान्स फाइनलमा
गोलनेपाल

पचरी शनिश्चरे । उर्लाबारी भेट्रान्स, मोरङ जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ उर्लाबारी भेट्रान्सले पथरी भेट्रान्स (निलो), मोरङलाई ३–० को अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो ।

उर्लाबारी भेट्रान्सको जितमा मित्र बस्नेत, अंकुर खड्गी र बिशाल राई (ए) ले समान एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि उर्लाबारी भेट्रान्सका गोलकर्ता अंकुर खड्गी घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल पथरी भेट्रान्स (रातो), मोरङ र सतिसाले भेट्रान्स, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २४ गतेका दिन हुनेछ ।

Post Comments