News अनुशासित ब्वाईज क्लब (एबीसी) र आयोजक मर्दिखोला युनाइटेड फाइनलमा
गोलनेपाल

मर्दिखोला । पाहुना टोली अनुशासित ब्वाईज क्लब (एबीसी), काठमाडौं र आयोजक मर्दिखोला युनाइटेड क्लब जारी पैयुँ पर्वत गोल्डकप राष्ट्रिय यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पैयुँ गाउँपालिका–४ पर्वत स्थित आयोजक क्लब कै मर्दिखोला खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा अनुशासित ब्वाईजले लप्पो फुटबल क्लब, पोखरालाई १–० ले हराउँदै फाइनल यात्रा तय गर्यो । अनुशासितका लागि इशान साहले एक मात्र निर्णायक गोल गरे र खेलको म्यान अफ दि म्याच पनि चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा मर्दिखोला युनाइटेडले होराईजन फुटबल क्लब, वालिङलाई पेनालटी शुटआउटमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा मर्दिखोला विजयी बन्दै फाइनल प्रवेश गरेको हो । खेलमा मर्दिखोलाका साजन गुरुङ म्यान अफ दि म्याच बने ।

अब अनुशासित ब्वाईज क्लब, काठमाडौं र मर्दिखोला युनाइटेड क्लब, पर्वत यही कार्तिक २ गते आइतबार हुने फाइनल खेलमा उपाधिका लागि भिड्नेछन् । खेल भने दिनको २ बजेदेखि शुरु हुनेछ ।

मर्दिखोला युनाइटेड क्लब, पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका, पर्वतको विशेष सहयोगमा जारी जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments