
खैरेनी । रोमाञ्चक जित हात पार्दै रुपन्देहीको देवदहमा सम्पन्न डि युनिटी कप यु–२० सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि जेसी ब्रदर्श फुटबल क्लबले जितेको छ ।
फाइनलमा जेसी ब्रदर्शले रामपुर फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । देवदह–५, खैरेनी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा जेसी ब्रदर्शले रामपुरमाथि २–० को जित निकाल्दै विजेता बन्यो ।
कुल ३६ टोलीहरु सहभागि प्रतियोगिताको विजेता बनेको जेसी ब्रदर्शले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता रामपुरले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी देवदह नगरपालिकाकी उप–प्रमुख विद्या लक्ष्मी गुरुङ्ग, देवदह नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष बासुदेव रिमाल, आयोजक क्लबका अध्यक्ष सचिन श्रेष्ठ, खेल संयोजक सुजन मगर, युवा खेल अभियन्ता प्रकाश बाह्रघरे लगायतले पुरस्कृत गरेका थिए ।
सोही अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटिएका दुई युवा सह–खेल संयोजक तारा थापा र सुमन बाह्रघरेले प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार समेत प्रकट गरे ।