News थ्रीस्टार बी डिभिजनमा घटुवा
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा कुनै बेला सफलतम र उत्कृष्ट क्लब मध्ये एक थ्रीस्टार क्लब बी डिभिजनमा घटुवा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले विगत दुई वर्षदेखि बल्झिएको मुद्दामा बिहीबार निर्णय गरेपछि थ्रीस्टार रेलिगेशनमा परेको हो ।

दुई वर्ष अघिको शहिद स्मारक ए डिभिजन लिगतर्फ निर्णायक मानिएको खेलमा थ्रीस्टारले जावलाखेललाई १–० ले हराउँदै रेलिगेशन टारेको थियो । त्यतिबेला २६ खेलबाट ३२ अंकसहित थ्रीस्टार नवौं स्थानमा रहेर लिगको समापन गर्न सफल भएको थियो । यद्यपि सोही नतिजापछि ३० अंक हुनुका बावजुद एपिएफ भने रेलिगेशनमा परेको थियो ।

तर त्यतिबेला थ्रीस्टारले भिषा सकिएका दुई विदेशी खेलाडीलाई खेलाएको भन्दै एपिएफले उजुरी गरेको थियो । त्यसमाथि छानबिन गर्दा अनुशासन कमिटीले थ्रीस्टारले अवैधानिक खेलाडीको ठहर गर्दै क्लब र खेलाडीहरुलाई आर्थिक जरिवाना गरेको थियो ।

यद्यपि त्यो नतिजा र निर्णय विरुद्ध एपिएफ र थ्रीस्टार दुवैले उजुरी गरेपछि त्यसबारे अपिल कमिटीले आवश्यक छानबिन शुरु गरेको थियो । जसमा अपिल कमिटीले बिहीबार एपिएफको पक्षमा निर्णय गरेको हो । योृ निर्णयपछि थ्रीस्टारले त्यतिबेला जावलाखेल विरुद्ध हासिल गरेको १–० को जित उल्टिदै ०–३ ले जावलाखेलको पक्षमा गएको छ ।

साथै यो निर्णयसँगै ३० अंकका साथ एपिएफले आफ्नो शिर्ष डिभिजनको अस्तित्व जोगाएको छ भने २९ अंक रहेको थ्रीस्टार रेलिगेशनमा परेको छ । स्मरण रहोस, बी डिभिजनमा घटुवा हुने अर्को टोली खुमलटारको भने यसअघि नै टुंगो लागिसकेको थियो ।

 

 

Post Comments