News सिटी र युभेन्टसको जित, रियलको अल हिलालसँग बराबरी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा क्लब विश्वकवतर्फ साविक विजेता म्यानचेष्टर सिटी र इटालिट क्लब युभेन्टसले जित हात पार्दा पूर्व विजेता रियल मेड्रिड भने बराबरीमा रोकिएको छ ।

समूह जी तर्फ सिटीले आफ्नो पहिलो खेलका रुपमा मोरक्कन क्लब वाइदाद एसीलाई २–० ले हरायो । सिटीको जितमा फिल फोडेन र जेरेमी डोकुले गोल गरे । समूह जी कै अर्को खेलमा इटालियन जायन्ट युभेन्टसले युएईको अल ऐनलाई ५–० को फराकिलो अन्तरले हरायो ।

समूह चरणको अब आफ्नो दोस्रो खेलमा जुन २२ तारीखका दिन युभेन्टसले वाइदाद एसीसँग खेल्नेछ भने सोही दिन सिटीले अल ऐनको सामना गर्नेछ ।

त्यस्तै समूह एचतर्फ पूर्व विजेता रियल मेड्रिड साउदी क्लब अल हिलालसँग १–१ को बराबरीमा रोकियो । खेलको ३४औं मिनटमा गोन्जालो गार्सियाको गोलबाट अग्रता बनाएको रियलले त्यो अग्रता जोगाउन सकेन । उता ४१औं मिनटमा रुबेन नेभेजले अल हिलालका लागि पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।

समूह एच कै अर्को खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जबर्गले मेक्सिकन क्लब पाचुकालाई २–१ को अन्तरले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । समूहको दोस्रो खेलमा जुन २२ तारीखका दिन रियल मेड्रिडले पाचुकाको सामना गर्नेछ भने सोही दिन रेडबुल साल्जबर्गले अल हिलालसँग खेल्नेछ ।

 

Post Comments