गोलनेपाल फाउण्डेशनले दाङ जिल्ला फुटबल रेफ्री एशोसिएशनलाई रेफ्री जर्सीहरु लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
नेपाली फुटबलको विकासमा एकपछि अर्को अभियान जारी गरिरहेको फाउण्डेशनले दाङ देउखुरी क्षेत्रका ६ रेफ्रीहरुलाई जर्सी, सिटी, झण्डा लगायतको रेफ्रीले प्रयोग गर्ने सामाग्री हस्तान्तरण गरेको हो ।
यद्यपि उक्त सहयोग हाल अमेरिकामा बसोबास गरिरहेका र अमेरिका कै लाइसेन्स प्राप्त रेफ्री जितु काकाले गरेका थिए । गोलनेपाल फाउण्डेशनका प्रमुख बिक्रम थापाले यो अभियानलाई सफल पार्न सहयोग गर्न जितु काकालाई धन्यवाद दिए ।
थापाले भने, “जितु काकाको यो सहयोग र हामीप्रतिको विश्वासका लागि उनलाई धन्यवाद दिन चाहन्छौं । वास्तवमै नेपालका रेफ्रीहरुले राम्रो सुविधा पाउनुपर्छ हाम्रो ठम्याई छ । त्यसैले पनि हामी यसपटक दाङका रेफ्रीहरुलाई केही सहयोग गर्ने प्रयास गरेका छौं ।”
उता जितु काकाले पनि नेपाली फुटबलका लागि केहि गर्न पाउँदा खुशी व्यक्त गरे । साथै उनले आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट गर्नुपर्ने सक्दो सहयोगलाई निरन्तरता दिने समेत बताए । स्मरण रहोस, जितु काकाले यसअघि पनि विभिन्न फिफा तथा नेशनल रेफ्रीहरुलाई आवश्यक सहयोग गरिसकेका छन् ।
नेपालमा रेफ्रीहरुलाई रेडियो कम्युनिकेशनको प्रयोग गर्नका लागि आवश्यक सामाग्री पहिलोपटक जितु काकाले नै अमेरिकाबाट उपलब्ध गराएका थिए । जितु काका भन्छन्, “म गोलनेपालको यो अभियानमा विश्वास गर्छु र आगामी दिनहरुमा पनि गोलनेपालको अभियानलाई मेरो सहयोग जारी रहनेछ ।”
पछिल्लो एक दशकदेखि नेपाली फुटबलमा निरन्तर सक्रिय भएर लागिपरेको गोलनेपालले देशका विभिन्न जिल्लामा पुगेर त्यहाँका बालबालिका, महिला फुटबल, स्थानीय रेफ्री, फुटबल संघहरुलाई निन्तरतर सहयोग गरिरहेको छ । साथै, यो सहयोग अभियानलाई गोलनेपालले देशको ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य समेत लिएको छ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय