कैलालीमा जारी तेस्रो खुल्ला अम्मरपुर कपको सेमीफाइनल समीकरण पुरा
गोलनेपाल

लम्कीचुहा । समानता युवा क्लबको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नम्बर - ४ अम्मरपुर कैलालीमा जारी तेस्रो खुल्ला अम्मरपुर पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार प्रतियोगिताका सम्पुर्ण क्वार्टरफाइनल खेलहरू सम्पन्न भएका छन्।

शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा घोडाघोडी क्लब शुखडलाई ३-० गोल अन्तरले पराजित गर्दै कर्णाली चिसापानी युथ क्लब सेमिफाइनल प्रवेश गरेको हो। चिसापानीको जितमा श्याम बयाडीले पहिलो हाफको १३ र २७ मिनेटमा गोल गर्दा दोस्रो हाफको अतिरिक्त समयमा रोहित लिगलले व्यक्तिगत एक गोल थप गर्दै टोलीको लागि ३-० गोलको जित सुनिश्चित गरे। उक्त खेलमा श्याम बयाडी म्यान अफ द म्याच बन्दै नगद रु.१००० सहित ट्रफी प्राप्त गरेका छन्।

शुक्रबार सम्पन्न अर्को रोमाञ्चक प्रतिस्पर्धामा न्यु ज्योति युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरी बोइज युनियन क्लब लम्की अन्तिम चारमा प्रवेश गरेको छ। बोइज युनियनको जितमा धीरज रावलले सुरुवाती १४ औं मिनेटमा हेडर मार्फत गोल गरेका थिए भने वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका भरत टमाटाले दोस्रो हाफको अन्त्यतिर थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्। उक्त खेलमा प्रभावकारी खेल प्रदर्शन गरेका धीरज रावल म्यान अफ द म्याच घोषित भएका छन्।

प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा ड्रिमर्स युवा क्लब लाई १-० गोलको नतिजामा पराजित गरी हिमालय युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। हिमालयको जितमा आशिष मुखियाले खेलको ५१ औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो । निर्णायक गोल गरेका आशिष उक्त खेलको प्लेयर अफ द म्याच घोषित भएका हुन्।

शनिबार प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा चुलीमालिका युवा क्लब बघनिया र बोइज युनियन लम्की दिनको ठीक १ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्नेछन् भने, रिभरसाइड कर्णाली चिसापानीले हिमालय युवा क्लबसँग दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्ने तय भएको छ।

Post Comments