होराइजनलाई कालीगण्डकी गोल्डकपको उपाधि
स्याङ्जा। स्याङ्जाको चापाकोटमा सम्पन्न आठौँ कालीगण्डकी गोल्डकप २०८३ को उपाधि होराइजन क्लब, वालिङ, स्याङ्जाले जितेको छ। बिहीबार भएको रोमाञ्चक फाइनलमा ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पालाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै होराइजन च्याम्पियन बनेको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि उपाधिको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा दुवै टोलीले समान ४–४ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा ६–५ गोलको नतिजा निकाल्दै होराइजनले ज्योतिपुञ्जलाई पराजित गर्यो र उपाधि आफ्नो नाममा लेखायो।
निकै प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले उपाधिका लागि उत्कृष्ट प्रयास गरे पनि निर्धारित समयभित्र गोल गर्न सकेनन्। पेनाल्टी सुटआउटमा समेत बराबरी भएपछि थपिएको सडन डेथले खेललाई झनै रोमाञ्चक बनाएको थियो। अन्ततः निर्णायक प्रहारमा बाजी मार्दै होराइजनले आठौँ कालीगण्डकी गोल्डकपको ट्रफी उचाल्यो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका गोलरक्षक अनिष महतो प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिताका विभिन्न विधागत पुरस्कारतर्फ पनि होराइजनका खेलाडीको वर्चस्व रह्यो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक अनिष महतो र उत्कृष्ट खेलाडी होराइजनकै कप्तान विश्वास श्रेष्ठ घोषित भए। त्यस्तै, उत्कृष्ट डिफेन्डरको पुरस्कार ज्योतिपुञ्जका आशिष गुरुङले प्राप्त गरे। प्रतियोगिताभर चार गोल गरेका ज्योतिपुञ्जका सुनिल थापा सर्वाधिक गोलकर्ता बने। फेयर प्ले टिमको पुरस्कार भदौरे क्लब, अन्नपूर्ण, कास्कीले प्राप्त गर्यो।
द राइजिङ ग्रुप, चापाकोट, स्याङ्जाको आयोजनामा कात्तिक १५ गतेदेखि गंगालाल माध्यमिक विद्यालय खेलमैदान, सुन्तलीटारमा सञ्चालन भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। प्रतियोगिताको विजेता होराइजन क्लबले नगद रु. ३ लाख र उपविजेता ज्योतिपुञ्ज युवा क्लबले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डटकमको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएका थिए।
Post Comments
Related News