
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि विल्डेले नेपाली फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फुटबलमा भन्दा राजनीतिमा बढी रुची रहेको बताएका छन् ।
नेपाली महिला फुटबल टोलीले पहिलोपटक पाएको प्रो लाईसेन्स प्रशिक्षक प्याट्रिकले एएफसी महिला एसियन कप छनौट प्रतियोगितापश्चात् कान्तिपुरसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले कान्तिपुरसँग कुराकानी कै क्रममा आफू यस्ता झमेलामा भन्दा फुटबलका लागि नेपाल आएको बताएका छन् ।
प्याट्रिकले उचित समर्थन र प्रविधि बिना पनि नेपालले एसियन कप छनौटमा उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले दिर्घकालिन योजनाका लागि नेपाली खेलाडीलाई ‘स्काउटिङ र प्रोफाईल’ आवश्यक रहेको बताए । साथै त्यसका लागि एन्फाले काम गर्नुपर्ने बताए । यद्यपि उनी भन्छन्, “एन्फाले गर्न पनि सक्छ, नगर्न पनि । मलाई लाग्छ उनीहरुले गर्न चाहँदैनन् ।”
उनले कान्तिपुरसँगको कुराकानी कै क्रममा एसियन कप छनौटतर्फ उज्वेकिस्तान विरुद्धको खेल अघि खेलाडीहरुले प्रधानमन्त्रीसँग गरेको भिडियो संवादबारे पनि चर्चा गरेका छन् । प्याट्रिकका अनुसार त्यो भिडियो कुराकानीले खेलाडीहरुमा दबाब थपिएको बताएका छन् । उनका अनुसार उज्वेकिस्तानसँगको टाईब्रेकरमा दबाब कै कारण ३–४ जना खेलाडीहरु पेनाल्टी प्रहार गर्न तयार नरहेको समेत खुलाए ।
कान्तिपुरसँगको कुराकानीमा उनी भन्छन्, “बिहान ११ बजे नै प्रधानमन्त्रीसहित व्यक्तिहरूसँग भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो । मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् । यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे । गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्यो त ?”
प्याट्रिकले खासगरी प्रतियोगिताका बेला सामाजिक सञ्जालको सही तरिकाले व्यवस्थापन हुनुपर्ने बताएका छन् । साथै खेलाडीलाई पनि भावनात्मक रूपमा आफूलाई कसरी सम्हाल्ने हो, त्यसबारे सिकाउनुपर्ने प्याट्रिकको बुझाई छ ।
प्याट्रिकले नेपाली फुटबलमा परिवर्तनका लागि दृष्टिकोण र प्राविधिक योजना चाहिने बताएका छन् । त्यसका लागि उनले तल्लोदेखि माथिल्लोतहसम्म प्राविधिक निर्देशकको खाँचो रहेको समेत औंल्याए । साथै उनले ती प्राविधिक निर्देशकलेलामो समयसम्म काम गर्न पाउनुपर्ने समेत बताए ।
उनी अगाडी भन्छन्, “ मैले प्रशिक्षणका क्रममा आफ्नो विचार मात्रै पोखें, त्यो भन्दा बढी केही गर्न सकिनँ । मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागें, कुनै जवाफ नै आएन । खेल भएको दिन, प्राविधिक प्रमुखले मलाई भनेका थिए, ‘धेरै चिन्ता नगर्नु, आफूले सक्दो गर्नु ।’ मलाई यसले केही नराम्रो गरेन, तर खेलाडी स्तब्ध थिए । उनीहरू रुने मनस्थितिमा थिए ।”
प्याट्रिकले टिम व्यवस्थापन र अन्य सदस्यसँगको सम्बन्धबारे पनि चर्चा गरेका छन् । उनले यसबारे आफुसँग अन्य विकल्प नरहेको बताउँदै आफूले चाहेजस्तो सहयोगी नपाएकोमा गुनासो गरे । उनी अगाडी भन्छन्, “मसँग दोस्रो विकल्प पनि थिएन । मलाई त्यस्तो सहयोगी पाइनँ, जसले मलाई मद्दत गर्न सकोस् । मैले सके आफैं सबै नियुक्त गर्थें । म सबैसँग काम गर्न तयार छु, तर उनीहरू पनि त्यसका लागि योग्य हुनुपर्छ । मलाई त्यस्तो सहायकको के काम जसलाई कम्युटर पनि खोल्न आउँदैन अनि तथ्यांकसँग काम गर्न सक्दैन । खेलाडीबारे पूरा जानकारी भएन भने कसरी अर्को स्तर पुग्ने ? हामीसँग जीपीएस थिएन । न ट्रेनिङमा क्यामेरा न त विश्लेषणका विवरण । यस्तो बेला मैले गर्ने नै के र ? म त ६१ वर्षको भइसकें । यो उमेरमा मेरो लागि खुसी नै सबैभन्दा ठूलो हो । मलाई यस्तो वातावरणमा अब काम गर्नु छैन । यो गुनासोमात्र होइन, वास्तविकता हो ।”
हाल एसियन कप छनौट सकिए लगतै बेल्जियम फर्किएका प्याट्रिकले एन्फासँग आफै कुरा नगर्ने समेत स्पष्ट पारे । एन्फाले फोन गरे मात्र आफूले जवाफ दिने बताए । साथै उनले आफू खेलाडीका लागि मात्र नेपाल फर्कन चाहेको बताए ।
उनी भन्छन्, “मैले खेलाडीलाई सहयोग गर्न सकिनँ भने त्यो समय खेर फाल्नु मात्र हुनेछ । राम्रो खेल्न प्रशिक्षण त चाहिन्छ नै । त्यसका खुसी पनि चाहिन्छ । खेलाडी त खुसीले नाचिरहेका पनि थिए । तर यत्तिले मात्र पुग्दैन । फुटबल नेतृत्वले नै काम गर्नुपर्छ । यदि म फर्कें भने मेरो उद्देश्य हुनेछ, गम्भीर रूपमा ठूलै काम गर्ने र नेपाली महिला फुटबलको स्वरूप परिवर्तन गर्ने ।”
उनले मैदान बाहिर भएका विवादहरुबारे पनि चर्चा गरेका छन् । प्याट्रिकका अनुसार आफू मुख्य प्रशिक्षक भए तापनि टिम होटलबाट आफूलाई अलग राखिएको समेत बताए । साथै उनले सबैलाई एकै ठाउँमा राख्नुपर्ने अडान लिएको समेत बताए ।
उनी भन्छन्, “उनीहरूले तीनतारे होटल दिन खोजे, मैले चारतारे मागें । त्यतिबेला नै एन्फा पदाधिकारीलाई लागेको थियो, यो प्रशिक्षकसँग काम गर्न सजिलो हुनेछैन । यो सब मैले खेलाडीका लागि चाहेको थिएँ । एन्फाले काम गर्ने भनेकै पनि खेलाडी र फुटबलका लागि हो ।”
उनले कप्तान कसलाई बनाउनेबारे पनि विवाद भएको कुरा स्वीकारे । साथै उनले साबित्रा भण्डारीलाई नै तत्कालका लागि उत्तम विकल्पका रुपमा देखेको बताए । प्याट्रिक भन्छन्, “सावित्रा भण्डारी नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हो । उनी थिइनन् भने नेपाललाई जित्न गाह्रो थियो । जत्तिकै विवाद भए पनि सबै खेलाडीले त्यसलाई बिर्सेर राम्रो खेले । होटलमै कहिलेकाहीं आइससम्म हुन्नथ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ? म अरूजस्तो प्रशिक्षक होइन, जसले कफी खाएर खेलाडीलाई निर्देशनमात्र दिने गर्छन् । तर म फरक छु । एन्फाले यस्तो गर्नु र उस्तो गर्नु भनेर दबाब दिनु फुटबलका लागि राम्रो होइन ।”
उनले अन्तिममा आफू नेपाल कमाउनका लागि नआएको समेत स्पष्ट पारे । उनी भन्छन्, “के कसैलाई मेरो तलबबारे थाहा छ ? म नेपालमा पैसा कमाउन आएकै होइन । म यहाँ पैसा कमाउन आएको होइन भने किन अरूको दबाबमा रहने ? स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ, तबमात्र राम्रो नतिजा निस्कन्छ । कुरा यत्ति नै हो ।”
कान्तिपुरमा प्रकाशित प्याट्रिकको अन्तरवार्ताबाट साम्भार ।