|
राष्ट्रिय खेलकुद परिषद्ले एन्फाको विवादास्पद अग्रेजी विधान स्वीकृतिका लागि खेलकुद विकास विभागमा पठाएको खुलासा परिषद्का एक सदस्यले नागरिकसंग गरेका छन् ।
परिषद्का सदस्य लक्ष्मण श्रेष्ठले विधान स्विकृतिका लागि एन्फाले असार २१ गते परिषद्मा दर्ता गराएको बताए।
सिङ्गापुरमा असार १५ देखि २५ गतेसम्म आयोजना भएको युथ एसियन गेममा परिषद्का सदस्य-सचिव जीवनराम श्रेष्ठ 'सेभ द मिसनुको रुपमा सहभागी हुँदा एन्फाले विधान स्वीकृतिका लागि परिषद्मा दर्ता गराएको थियो । त्यतिबेला परिषद्को सदस्य-सचिवको कार्यकारी अधिकार लक्ष्मण श्रेष्ठले सम्हालेका थिए । "अग्रेजी विधाननै दर्ता गरिएको छ । अध्ययनका लागि मैले खेलकुद विकास विभागमा पठाएको थिए । स्वीकृति हुने प्रकि्रयामा छ" सदस्य लक्ष्मणले भने ।
तर परिषद्मा दर्ता एन्फाको अग्रेजी विधान आवश्यक कार्यवाहीका लागि सदस्य-सचिव जीवनराम श्रेष्ठकै तोक आदेशमा असार २९ गते खेलकुद विकास समितिलाई पठाइएको निजी सचिवालय श्रोतले नागरिकलाई जानकारी दियो । यस्तै विकास समितिले पनि अग्रेजी विधान अस्पष्ट भएको भन्दै एन्फासंग नेपालीमा विधान माग गरेको छ । "हामीले नेपालीमा विधान मागेका छौ" विकास समिति प्रमुख कमल खनालले बताए ।
स्वीकृतिको आवश्यकता छैन
तर एन्फा अध्यक्ष गणेश थापाले हालै साधारण सभाबाट सर्वस्विकृत अग्रेजी विधान परिषद्मा दर्ता गराउन आवश्यक नरहेको टिप्पणी गरेका छन् । उनले एन्फा विधान निमार्णका लागि गठन भएको मस्यौदा समितिले यसअघि नै परिषद्लाई सुझावका लागि एक कपी विधान उपलब्ध गराएको तर त्यतिबेला परिषद्ले आफुहरुलाई कुनै सुझाव नदिएको दावी गरे ।
|