|
काठमाडौंको त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भब्यरुप देखेर जिब्रो टोक्ने नेपालीको संख्या अहिले पनि कम छैन् । टेलिभिजनमा युरोपका भब्य र सुन्दर रंगशाला देखेका नेपालीका लागि अहिले पनि दशरथ रंगशालाको महत्व घटेको छैन । कारण दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला हो। त्यसैले यो रंगशालाले अन्तर्राष्ट्रियस्तरमा हामी नेपालीको इज्जत धान्ने काम गर्दे आइरहेको छ । दशरथ रंगशाला निमार्णको इतिहास ५३ बर्ष लामो छ । र अझ पनि यो आधुनिकीकरणको पर्खाइमा छ।
धेरैलाई अपत्यारिलो लाग्न सक्छ दशरथ रंगशालाको निमार्ण २०१३ सालमा तत्कालिन राजा महेन्द्रको राज्यभिषेक अगाडि सुरु भएको थियो । २०१३ सालभन्दा अगाडि सार्वजनिकरुपमा फुटबल खेलिन्थ्यो हाल रंगशाला परिषरमा रहेको कभर्ड हलको खाली मैदानमा । त्यो सानो टुँडीखेलको नामले परिचित थियो । त्यतिबेला ठूलो खाल्डो थियो रंगशालाको अहिलेको फुटबल मैदान । त्यहाँ पोखरी पनि थियो ।
२०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसर पारेर कुस्ती एथ्लेटिक्स फुटबल व्याडमिन्टन र टेबल टेनिसको आयोजना गर्ने निर्णय भएपछि पहिलो पल्ट आवश्यकता महसुस गरियो रंगशालाको । निमार्णको जिम्मा दिइयो किरण शम्शेरलाई । उनले खाल्डो भएको स्थान सम्याउने कामलाई तिब्रता दिए । राता रात बुल्डोजर चलाइयो । यसका लागि २ महिनाको समय लागेको थियो । त्यतिबेला रंगशालाको पूर्वपट्टी आर्मीको सानो ब्यारेक थियो । डाडो पनि । उत्तरतर्फ बाँसको ठूलो झयाङ । दक्षिणी भाग खुल्ला थियो । पश्चिमतर्फ राजा राजपरिवारका सदस्य मन्त्रिगण र अतिथीका लागि बस्न ३÷४ वटा गाह्रो उठाइयो । त्यही स्थानमा एक तला घर पनि तयार पारियो । त्यो घर तयार पार्नुको उद्देश्य थियो खेल साचालन नहुँदा आराम गर्न र शौचालय प्रयोगका लागि।
हतारमा तयार पारिएको पहिलो रंगशालाको खेल मैदानको लेबल राम्रो थिएन । मैदानमा घाँस पनि थिएन । खाल्डोलाई माटोले सम्माएर मैदान तयार पारिएको थियो । प्रतियोगिताको दिन धुलो उड्ने डरले सधै पानी छर्किने गरिन्थ्यो । "खेल भइरहेको बेला धुलो उडेर विजोग भएको थियो" राज्यभिषेक कपमा एथ्लेटिक्सतर्फ भाग लिएका राष्ट्रिय खेलकुद परिषद् राखेप का पूर्व सदस्य-सचिव राजबहादुर सिह पुरानो कुरा सम्झदैँ भन्छन् । उनका अनुसार यही प्रतियोगितामा पहिलो पल्ट 'फ्लड लाइट'को प्रयोग भएको थियो । "बिजुली अफिसबाट लाइट झिकाएर बत्तिमा फुटबल म्याच खेलाइएको थियो" उनी भन्छन्। त्यतिबेला फुटबल ६० मिनेट खेलिएको थियो ।
- - -
रंगशालाको दोस्रो चरणको निमार्ण कार्य २०२२ सालमा सुरु गर्ने प्रयास भएको थियो । तर आर्थिक अभावका कारण सफल हुन सकेन । २०२२ सालमा नेपाल र चीन सरकारबीच रंगशाला निमार्णका लागि पहिलो पल्ट सम्झौता भएको थियो । त्यसका लागि चीन सरकारले सिमेन्टी र छड उपलब्ध गराएको थियो । प्याराफिट निमार्णका लागि उत्तरतर्फको माटोसमेत काट्ने काम भएको थियो । तर रंगशाला निमार्णका लागि आवश्यक रकम जुटाउन नसक्दा बीचैमा काम अडकिन पुग्यो । त्यतिबेला परिषद् सञ्चालनका लागि दरबारले १० हजार रुपैया सहयोग पुर् याउदै आइरहेको थियो । यो रकम भारतको कोलकाताबाट सामान ढुवानी गर्न पनि अपुग थियो । चीन सरकारले आवश्यकताभन्दा बढि सिमेन्ट पढाएर सहयोग गर्न पनि खोजेको थियो । "पछि खर्च धान्न सकिएन र काम रद्द भयो" विद्या व्यायामका पूर्व फुटबल खेलाडी दीलेन्द्रविर पाण्डे भन्छन् । यतिबेला चिनिया सरकारले पठाएको केही बोरा सिमेन्ट विकि्र गरेर पनि खर्च जोहो गर्ने प्रयास गरिएको थियो ।
निमार्ण कार्य रोकिएपछि सुरक्षाको अभावमा थुप्रै छड र सिमेन्टका बोरा चोरी भएका थिए । ु२ रुपैया बोराका सिमेन्ट बेचिएको थियोु परिषद्का पूर्व प्रशाषन प्रमुख कमल प्रधान भन्छन् । त्यतिबेला परिषद्को सदस्य-सचिव थिए सुशिल शम्शेर । यसअघि उनकै सकि्रयतामा २०२० सालमा राजा महेन्द्रले त्रिपुरेश्वरको २ सय रोपनी जग्गा हुकुम प्रमागीबाट रंगशालालाई प्रदान गरेका थिए । त्यसअघिसम्म रंगशाला बनेको जग्गा परिषद्को नाममा थिएन । यो जग्गाको लालपुर्जा २०३७ सालमा परिषद्ले मालपोत कार्यालयबाट निकालेको थियो त्यतिबेला जग्गा घटेर १ सय ३२ रोपनीमा सिमित भएको थियो । सुशिल शम्शेरकै सकि्रयतामा २०२१ साल भदौ १३ गते परिषद्को पहिलो ऐन पनि जारि भएको थियो । यसै बर्ष भारतीय दुतावासले हाल नेपाल आर्मीको मुख्यालय रहेको स्थानमा छड फलाम डण्डी टिन पाता र चेसिसको ठूलो मेलाको आयोजना गरेको थियो । मेला सकिएपछि दुतावासले यी सवै सामान परिषद्लाई हस्तान्तरण गरेको थियो । यही सामानहरुबाट त्रिपुरेश्वरस्थित कभर्ड हलको प्रारम्भिक निमार्ण कार्य सुरु भएको थियो ।
यसको तीन बर्षपछि २०२४ सालमा राखेप बोर्ड पुर्नगठन भयो । परिषद्को सदस्य-सचिव बने कुमार खडग विक्रम शाह । अध्यक्ष भए बसुन्धरा विक्रम शाह । यीनिहरुले रंगशाला निमार्णको कामलाई आफ्नो मुख्य एजेन्डा बनाए । जसका कारण २०२७ सालमा पूर्व र उत्तरतर्फ ५÷५ लाइनको प्याराफिट तयार भयो । त्यसैक्रममा कभर्ड हलको पनि निमार्ण भयो र २०२८ सालमा उद्घाटन गरियो ।
२०२८ साल माघ १७ गते राजा महेन्द्रको चितवनमा निधन । उनको निधनसंगै जेठा छोरा वीरेन्द्रलाई नेपालको नयाँ राजा घोषणा गरियो । राजा वीरेन्द्रको राज्यभिषेक २०३१ सालमा हुने निर्णय भएपछि रंगशाला निमार्ण कार्यलाई झन जोडतोडका साथ सुरु गरियो । चीन सरकारसंग रंगशाला निमार्णका लागि पुनः सम्झौता भयो । छड र फलामका डन्डीहरु चीनबाट भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै नेपाल भित्रिने तय भयो । त्यतिबेला सामानको ुफवाडिङु रुक्लेरिङु एजेन्टको रुपमा ज्योती ब्रर्दशका ज्ञान ज्योतीलाई नियुक्त गरियो । लामो प्रयासपछि राजा वीरेन्द्रको राज्याभिषेकमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि रंगशालाको पूर्व र उत्तरतर्फ १४÷१४ स्टेपको प्याराफिट तयार भयो । पश्चिमतर्फ भिआइपीका लागि प्याराफिट बनाइयो । यस्तै एथ्लेटिक्सका लागि ६ लेनको ट्रयाकसमेत तयार पारियो । तर यो ट्रयाक इटाको धुलोले बनाइएको थियो ।
यसैक्रममा खेलाडीहरुको पूर्ण व्यवस्थाका लागि होस्टेल जहाँ अहिले अस्पताल राखिएको छ र स्वीमिङ पुल निमार्णका लागि २०३० सालमा शिलान्यास गरिएको थियो । होस्टेलको उद्घाटन २०३३ सालमा भएको थियो । तर त्यो विल्डिङ उद्घाटनदेखि हालसम्म होस्टेलको रुपमा प्रयोग भएको छैन । स्वीमिङ पुल भने २०३४ सालमा तयार भयो जसको उद्घाटन तत्कालिन राजा वीरेन्द्रले नै गरेका थिए ।
२०३४ सालमा सरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव नियुक्त भएपछि रंगशालाको संरचनामा अझै सुधार आयो । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०३५ सालदेखि निमार्ण कार्य सुरु गरेर ०३७ सालमा पुरा गरियो । यतिबेला सरकारी रकम खर्च भएको थियो । त्यतिबेला बार्षिकरुपमा परिषद्को प्रशासनिकतर्फको खर्च ६ लाख रुपैया थियो भने विकाश बजेट २५ लाख रुपैया । रंगशालाको प्याराफिट भित्र अफिसका लागि कोठा निकाल्नेदेखि बाहिर सटर निमार्णको कामसमेत भएको थियो । प्याराफिटको माथिल्लो भाग थप गर्ने कामले पनि निरन्तरता पायो । यसैक्रममा भिआइपी प्याराफिटतर्फ लिफ्ट पनि जडान गरियो । रंगशाला निमार्णसंगै २०३८ सालमा दशरथ रंगशालामा पहिलो वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरियो । यसको दुई बर्षपछि यही रंगशालामा दक्षिण एसियाको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ सुरु भयो । २०४४ सालसम्म मैदान घेर्न पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घेरिने गरिन्थ्यो । तर ४४ सालको दर्दनाक रंगशाला काण्डपछि काडेँ तारबाट मैदान घेर्न छोडियो । रंगशाला काण्डमा हावाहूरीका कारण भागाभाग गर्ने क्रममा ७१ जनाको निधन भएको थियो । यही घटनाका कारण तत्कालिन शिक्षा मन्त्रि केशरबहादुर विष्टले राजीनामा दिएका थिए ।
दशरथ रंगशालाको हालको स्वरुप भने २०५५ सालमा तयार भएको हो । नेपालले आठौ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका लागि पुनः सहयोग गर् यो । आठौ साफकै सन्दर्भमा रंगशालामा 'फर्ड लाइट' र स्कोर बोर्ड थपियो । यस्तै दर्शकहरु सहजै मैदानमा झिर्न नपाउनु भन्ने उद्देश्यले प्याराफिटको तलको तीन लेन फुटाइयो । प्याराफिट रेलिङले घेर्ने काम पनि भयो । पानीबाट प्रभाव नपर्ने 'वाटर प्रुफ' पेन्ट पुरै रंगशालामा लगाउनेलगायत पहिलो पल्ट ८ लेनको सेन्थेटिक ट्रयाकको पनि पुनः निमार्ण सम्पन्न गरियो ।
मसानघाट थियो पहिलेको रंगशाला
२०१३ सालमा दशरथ रंगशालाको पहिलो खाका तयार हुनु अघि यो ठाँउ मसानघाटको रुपमा परिचित थियो । वाग्मतीको पुलदेखि यो स्थान खुला मैदान थियो । काठमाडौंका पोडें र बाग्मती हालको बाग्मती पुल वरिपरि मा बस्ने जोगीहरुको लास जलाउने र गाड्ने गरिन्थ्यो वरिपरि । त्यसैले २०११ सालसम्म यो स्थान मसानघाटकै रुपमा चिनिन्थ्यो । यहाँका स्थानीयवासी दिउँसो १२ बजे र साझ ४ बजेदेखि रंगशाला वरिपरि नजान सवैलाई सल्लाह दिन्थे । रंगशालाको उत्तर प्याराफिटतर्फ पहिले ठूलो बासको झयाङ थियो । त्यो झयाङमा नाग भएको र त्यता नजान पनि सल्लाह दिन्थे । यस्तै हाल फुटबल मैदान भएको स्थान पहिले पोखरी थियो । यो पोखरी नजिकै नजान पनि सल्लाह दिन्थे । पोखरीमा तान्ने चिज छ भन्ने भनाई नै थियो त्यतिबेलाका स्थानीयवासीको । "त्यतिबेला हामी असनबाट त्रिपुरेश्वर जाँदा बासको झयाङबाट नजानु भन्ने गर्दथे," रानी पोखरी कर्नर टिम आरसिटी का पूर्व कप्तान पुरुषोत्तमप्रसाद श्रेष्ठ भन्छन् ।
पहिले मसानघाट भएकै कारण रंगशालाको कभर्ड हल हाता र रंगशालाभित्र राती १२ बजे अनौठो हर्कत हुने गरेको दावी गर्छन यहाँका कर्मचारीहरु । त्यसैले २०४३ सालसम्म भन्ने गरिन्थ्यो, "रंगशाला र कभर्ड हलमा मध्यान्न १२ बजे एक्लै नछिर्नु । र राती यी ठाँउमा नजानु ।"
२०३९ सालमा खेलकुदका दुई वरिष्ठ कर्मचारी केशव गौतम र पार्थसारथी सेन गुप्ता मिठू गुरु संग यस्तै अनौठो घटना भएको थियो । त्यतिबेला यी दुई कर्मचारीहरु भारतको पटियालाबाट प्रशिक्षक कोर्ष गरेर फर्किएका थिए । उनीहरु करिब २ महिना हाल परिषद्को प्रचार-प्रसार रहेको कोठामा बस्ने गर्दथे । त्यतिबेला त्यो कोठालाई खेलाडीको आराम गर्ने ठाँउको रुपमा विकसित गरिएको थियो । त्यतिबेलै परिषद्मा कार्यरत थिए गार्ड हिरामान मर्हजन । यीनले यी दुवैलाई राती दिसाँ पिसाब गर्न स्वीमिङ पुल र कभर्ड हल क्षेत्र नजान सुझाव दिएका थिए । तर एक रात ११ बजे उनीहरु कभर्ड हलतर्फ पिसाब फेर्न जाँदा हाल दर्ता शाखा भएको कोठामा एकहोरो टाइपको आवाज आइरहेको थियो । त्यस्तै कभर्ड हलतिर टेबल टेनिस र व्याडमिन्टन खेलिरहेको आवाज गुञ्जिरहेको थियो । यो घटनापछि डरले यी दुवैले परिषद्को कोठा छोडेका थिए । "यो घटनापछि हामी परिषद्मा सुत्नै छाड्यो । न्युरोडस्थित पिपलबोट नजिकै लज पाइन्थ्यो त्यही गएर बस्यौ" - घटनाका प्रत्यक्षदर्शी केशव गौतम भन्छन् ।
|