|
धरानको टेम्के क्लब टाइब्रेकरमा ३-२ ले एलेभेन एरोजको चुनौती समाप्त पारेर शनिबार पाँचौं सहिद भीमनारायण रनिङ कप फुटबल च्याम्पियन बनेको छ ।
निर्धारित समय १-१ को बराबरीमा टुङगएपछि भएको टाइब्रेकरमा गत वर्षको उपविजेता टेम्के नयाँ च्याम्पियन बनेको हो । तीन राष्ट्रिय खेलाडी सन्दीप राई, सागर थापा र गोलरक्षक रितेश थापाको प्रहार चुकेपछि पूर्वविजेता एलेभेन एरोजले हार बेहोर्यो ।
सुरज सुनुवार र रविन राई असफल रहे पनि गोलरक्षक किरण चेम्जोङ, विष्णु सुनुवार र योगेश श्रेष्ठले गोल गर्दै टेम्केलाई सफलता दिलाए । एलेभेन एरोजका सोलु चौधरी र रामजी खत्रीमात्र टाइब्रेकरमा सफल रहे ।
यसअघि खेलको २० औं मिनेटमा रविन राईले गोल गरेपछि टेम्केले अग्रता लिएको थियो । टंक बस्नेतले दोस्रो हाफको आठौं मिनेटमा गोल गरेर एलेभेन एरोजलाई १-१ को स्थितिमा पुर्याए । रनिङ कपसँगै टेम्केले १५ हजार र उपविजेता एलेभेन एरोजले १० हजार रुपैयाँ पुरस्कार पाए ।
धनकुटाको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा उपविजेता टिमका सन्दीप राई 'म्यान अफ द सिरिज' र रितेश थापा 'म्यान अफ द फाइनल' भए । पीएलएका गणेश खड्का -४ गोल) ले सर्वाधिक गोलकर्ताको पुरस्कार थापे । |