|
दशकअघि फुटबलमा उनको राम्रै चर्चा हुने गर्थ्यो । खेलाडी, टेलिभिजनका खेलकुद कमेन्टेटर, चलचित्रका नायक अनि नेपाल प्रहरीका जागिरे । जता गए पनि उनलाई नचिन्ने हुदैनथे । अहिले उनी फुटबलबाट मात्र नभई टेलिभिजन र अभिनयको दुनियाबाट समेत टाढा छन् । फुटबलसँग नाता टुटेको धेरै भयो । अहिले परिचय फेरिएको छ । राष्ट्रिय खेलाडी टिभी कमेन्टेटर र कलाकारको रुपमा सेलिब्रिटीको पहिचान बनाएका उनी विनोद खरेल अहिले प्रहरी निरीक्षकको परिचयमा रमाइरहेका छन ।
अग्लो कदका विनोद हाल भृकुटीमण्डपस्थित नगर प्रहरी घटना सहायक कार्यदलमा कार्यरत् छन् । हुलमुल जुलुस अनि अपराध नियन्त्रणको गहन जिम्मेवारी छ उनमा । जहाँ गयो त्यही रमाउने बानीले उनलाई फुटबलसँग नाता तोडिदा पनि पछुतो गर्नुपर्ने अवस्था आउन दिएको छैन ।
काठमाडौं सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद साफ को फुटबलमा नेपाल फाइनल पुगेको थियो । त्यतिबेला नेपाली टोलीका गोलरक्षक विनोद नै थिए । फाइनलमा नेपाल पराजित हुँदा सारा दर्शक स्तब्ध भए । विनोदले पनि त्यही खेलबाट झन्डै दशक लामो आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाए ।
पुलिस क्लबका विनोद त्यतिबेला सिपाही नै थिए । अर्को एक बर्षपछि उनले घरेलु फुटबल पनि छाडे । त्यसबीचमा प्रहरी निरीक्षकमा उतीर्ण हुनु फुटबलसँग पूर्णरुपमा नाता तोडनुको प्रमुख कारण थियो । विनोदको परिचय यतिमा सीमित छैन । उनी कुनै समयका फिल्मीनायक र टिभी पत्रकार पनि हुन् ।
लोभीपापी र आँधिबेहरीका नायक विनोदले धेरै चर्चा टेलिफिल्मबाट पाए । उनी टिभीमै बढी रमाउँथे । आफूले खेलेको 'भावना' उनको म पर्ने टेलिफिल्म हो ।
आठौं साफकै आसपासमा उनी नेपाल टेलिभिजनमा 'खेल-खेल' कार्यक्रम पनि चलाउँथे । तर अहिले उनी सबथोकबाट टाढा छन् । 'जहाँ छु त्यहीँ खुसी छु', विनोदले नागरिकसँग भने- 'जहाँ हुन्छु, त्यहीँ प्रतिबद्ध रहन्छु ।'
भविष्यको पनि उनीसँग कुनै योजना छैन । 'म योजना बनाएर चल्ने मान्छे होइन जे आइपर्छ गर्दै जान्छु', उनको लक्ष्य छ- 'फुटबल फिल्म र कमेन्ट्री मेरा लागि इतिहास भैसकेका छन्, अहिले पुलिसको ड्युटीमा केन्द्रित छु ।' उनले फुटबल फिल्म र कमेन्ट्री लगभग सँगसँगै छोडेका हुन् । अहिले पनि उनलाई साथीभाइले फिल्म र विज्ञापनमा खेल्न अफर गर्छन् तर उनलाई अहिले त्यसमा इच्छा छैन ।
प्रहरी निरीक्षक भएकै ११ वर्ष पुगिसक्यो । ४० वर्षे विनोद तीन पटक त युएन मिसन गैसके । फ्रेन्च भाषामा राम्रो दख्खल भएर पनि होला तीन पटक मिसन जान पाएको- उनको आफ्नै विश्लेषण हो यो । ड्युटीमा खटिने क्रममा उनी कहिलेकाही दशरथ रंगशाला पुग्छन् । अहिले फुटबलसँग उनको नातो त्यति मात्र हो ।
अहिले पेशामा फुटबलकै कारण धेरै सजिलो भएको उनको अनुभव छ । 'पूर्व खेलाडी रहेको नाताले धेरैले विश्वास गर्छन्', उनले अनुभव सुनाउँदै भने- 'धेरैले चिन्ने भएकाले सजिलो भएको हो ।' आफूले अंगालेका हरेक ठाउँमा सफल भएको उनी दाबी गर्छन् । 'म जहाँ रहे त्यहाँ सफल नै छु । उनको दृढता छ ।'
आफू खेल्दा भन्दा अहिले नेपाली फुटबलले धेरै प्रगति गरेको उनको ठम्याई छ । 'हाम्रो पालामा फिजिकल गेम खेल्थ्यौं । अहिलेका टेक्निकल गेम खेल्छन्'- उनी भन्छन् 'यो नेपाली फुटबलमा आएको सकारात्मक परिवर्तन हो ।'
यसबीचमा नेपालले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको मौका पाउनु राष्ट्रिय फुटबल विकाशका लागि फलदायी रहेको उनको तर्क छ ।
'नेपालले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मौका पाएको छ । यसले दर्शक र फुटबलप्रेमीमा फुटबलप्रति क्रेज झन् बढाउँछ, उनले भने- तर व्यवस्थापन र भौतिक पूर्वाधारमा भने काम हुन सकेन ।
ए डिभिजन लिग रोकिएको उनलाई मन परेको छैन । भन्छन- लिग त फुटबलको मेरुदण्ड हो । दुई वर्षदेखि रोकिएकाले नयाँ प्रतिभाले क्षमता देखाउने मौका पाएका छैनन् । प्रेसिडेन्टस् कपमा पुलिसको प्रदर्शन कमजोर हुनुको कारण पनि लिग नहुनु नै हो । लिग भएको भए सायद अर्को टोलीले पनि प्रेसिडेन्ट्स कप खेल्न पाउँथ्यो वा पुलिसकै टिममा पनि पुरा नयाँ खेलाडी हुन्थे होला ।
पुतलीसडकमा जन्मिएका विनोद अहिले सुकेधारा बस्छन् । १२ वर्षअघि इटहरीकी पुष्पासँग मागी विवाह गरेका विनोदका ११ वर्षीय छोरी मुस्कान र ५ वर्षी छोरा मोहित छन् ।
प्रकाश तिमल्सिना, nagariknews.com |