English
 
 
Guest Article
Bookmark and Share
पुलिसको हारमा प्रशिक्ष्ाक जिम्मेवार
 
छनोट चरण पूर्व नेपाल पुलिस क्लबलाई एएफसी प
 
May 22, 2009 12:00:20 PM
 

 

छनोट चरण पूर्व नेपाल पुलिस क्लबलाई एएफसी प्रेसिडेन्ट्स कपमा निक्कै बलियो आँकिएको थियो । समूह 'ए' का खेल सम्पन्न हुँदा स्थिति विल्कुलै फरक रह्यो । उपाधि जित्ने सपना बुनेको पुलिस अंक तालिकाको पुच्छारमा रह्यो ।

 उसले कुनै खेल जितेन । कमजोर आँकिएका टिमसामु घुँडा टेक्यो । ताइवान पावर कम्पनी र पाकिस्तान वाप्डालाई कमजोर ठान्नु गल्ती भएको प्रशिक्षक विराटकृष्ण श्रेष्ठले स्विकारेका छन् । चाइनिज ताइपेईको ताइवान पावर र पाकिस्तानको वाप्डा भर्खरै घरेलु सर्वोच्च लिग जितेर राम्रो तयारीका साथ काठमाडौं उत्रेका थिए ।

लगातार २ वर्ष लिग नभएको मुलुकको च्याम्पियनको रूपमा पुलिसले खेल्ने मौका पाएको हो । त्यो स्थितिमा ताइवान पावर र वाप्डालाई कमजोर प्रतिद्वन्द्वी ठान्नु पुलिसका अनुभवी प्रशिक्षकको ठूलो भूल हो । आखिर उसको सपना त्यही भूलले यथार्थमा परिणत हुन दिएन ।

'दुई टिमलाई कमजोर आँक्नु गल्ती भयो,' पहिलो चरणबाट बाहिरिएपछि विराटकृष्णले प्रायश्चितयुक्त प्रतिक्रिया जनाएका थिए । पहिलोपल्ट घरेलु मैदानमा खेल्ने अवसर पाएका पुलिसका खेलाडीले आकर्षक फुटबल खेले । खेल कौशलले प्रतिद्वन्द्वीको मन जितेको पुलिस नतिजामा चुक्यो ।

विभागीय टिमले दर्शक तान्न पनि सकेन । राम्रो खेल्ने खेलाडी नायक बन्छन् । उसले सबैको वाहवाही पनि पाउँछ । त्यही नायकको योजनाकार प्रशिक्षक हुने गर्छ । राम्रो वा नराम्रो, टिमको प्रदर्शन र नतिजामा प्रशिक्षक सँधै जिम्मेवार हुन्छन् । त्यसमा खेलाडीको भूमिका कलाकारकोभन्दा पृथक रहन्न ।

अन्तर्राष्ट्रिय फुटबलमा पनि यस्तै हुनेगर्छ । सफलतामा प्रशिक्षकको जताततै चर्चा हुन्छ । असफलतामा भने उनीहरू पद नै गुमाउँछन् । त्यसैले पुलिसको कमजोरीमा प्रशिक्षक पक्कै पनि जिम्मेवार छन् । दुई वर्षअघि पुलिस प्रेसिडेन्ट्स कपको उपविजेता रहँदा उनले वाहवाही नपाएको होइन ।

गत वर्ष अन्तिम चारको यात्रामा पनि उनी प्रशंसाका पात्र बनेका थिए । अब्बल प्रशिक्षकको करिअरमा कहिलेकाहीं यस्तो हुने गर्छ । साढे ३ वर्षअघि पुलिस टिम सम्हालेका विराटकृष्णको जीवनमा यो राम्रो रेकर्ड होइन । राम्रो खेल होइन, पुलिसलाई विजयी नतिजा चाहिएको थियो ।

त्यसमा योजनाकार विराटकृष्ण 'फ्लप' भए । राम्रो खेलेर पनि खेलाडीले गोल गर्न नसकेपछि विराटकृष्ण चुके । दुई संस्करणमा ७ गोल गरेका स्टार स्ट्राइकर जुमनु राईमा उनको ठूलो भरोसा थियो । जुमनु लयमा र्फकन नसक्नु विराटकृष्ण र पुलिसको लागि दुर्भाग्य बन्यो ।

अनुभवी डिफेन्डर राकेश श्रेष्ठ, युवा प्रतिभा दिपेन श्रेष्ठको चोट पुलिसका लागि महँगो सावित भयो । गोलरक्षक रितेश थापाको प्रदर्शन बिर्सनलायक रह्यो । सेन्टर डिफेन्सले पनि राम्रो भूमिका निभाउन सकेनन् । पुलिसले खाएको ५ मध्ये ४ गोल आफ्नै गल्तीले भएको थियो ।

नयाँ संरचनाका टिममा २३ मध्ये १३-१४ राम्रा खेलाडीप्रति विराटकृष्णले भरोसा गरेका थिए । पुलिसका ४ मध्ये ३ गोल आफ्नो नाममा लेखाएका चेतन घिमिरे, योगेश श्रेष्ठ, रोशन कार्की, रोविन श्रेष्ठ, भोला सिलवालको राम्रो खेलमा भने पुलिसको उज्वल भविष्यको कल्पना गर्न सकिन्छ ।

(Source: Ekantipur.com)

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion