English
 
 
Live News
Bookmark and Share
ब्रानेर नेपाल आउँदा कसैले पत्तो पाएनन्
 
 
Nov 15, 2009 09:35:00 AM
 

जर्मनका अधिकास नागरिक देशभित्र विभिन्न सभा, समारोह आयोजना गरेर बर्लिन पर्खाल भत्किएको २० औं बार्षिकोत्सव मनाइरहेका बेला जर्मनीका पूर्व राष्ट्रिय फुटबल खेलाडी हराल्ड ब्रानेर विश्वको सर्वोच्य शिखर सगरमाथा अवलोकन गर्न ब्यस्त थिए। उनी आफ्नो परिवारसंगै ६ तारिख नेपाल आएका थिए। गुपचुप हिमालको दर्शन गरेपछि गत बुधबार ठमेलस्थित क्याराभान गार्डेनमा भेटिएका उनी सन् १९९३ जर्मनीमा एक महिना अभ्यास गरेका नेपाली युथ-१९ टोलीका पूर्व खेलाडी भेट्न व्यस्त देखिन्थे।

फुटबलका लागि कुनै भाषा चाहिदैन। सवै भाषालाई यसैले जोड्न सक्छ', उनलाई भेट्न होटल पुगेका सन् १९९३ को युवा टोलीलाई जर्सी उपहार प्रदान गर्ने क्रममा ब्रानेर भन्दै थिए। ब्रानेर तीनै फवार्ड हुन, जसले सन् १९६४ देखि ७३ सम्म ९ बर्ष पश्चिम जर्मनीका लागि अन्तर्राष्ट्रिय फुटबल खेले। त्यो पनि फ्रान्क बेकेन्बाउरजस्ता हस्तीहरुका बीच। उनको अन्तर्राष्ट्रिय फुटबल जीवन एउटा दुर्घटनाका कारण चाडैँ टुङ्गिएको थियो।

'अकल्पनीय। मैले कल्पनै गरेको थिइन्। वास्तवमै धर्तीको सवैभन्दा ठूलो हिउँको डल्लो अगाडि उभिएको थिए', यसै साता सगरमाथाको अवलोकन गरेका ब्रानेर नागरिकसंग भन्दै थिए। उनको यो पहिलो नेपाल भ्रमण थियो। उनी मनोचिकित्सक आफ्नी श्रीमति कारिन र शिक्षाशास्त्रमा विद्यावारिधि गरेका छोरा फ्रान्कसंगै नेपाल आएका थिए। ब्रानेर परिवार विगत एक बर्षदेखि दक्षिणी भारतको केरलालाई आफ्नो कर्मक्षेत्र बनाउँदै समाजसेवामा सक्रिय छन्।

छोरा फ्रान्कको साथी गेर्डी गुटपेर्लाले तमिलनाडुमा स्थापना गरेको एउटा शिशु स्याहार केन्द्रलाई सहयोग गर्न गत बर्षको मार्चमा यो परिवार दक्षिण भारत पुगेको थियो। उनको छोरा यो केन्द्रका बालबालिकाहरुलाई पठाउन ब्यस्त छन् भने बाबु ब्रानेर फुटबल सिकाउन। आमा भने काउन्सिलिङमा। पछिल्लो समय भारतीय फुटबल संघकै सहयोगमा ब्रानेर केरला, कोची र त्रिबेन्द्रमका युवा खेलाडीलाई ट्रेनिङ दिन व्यस्त छन्।

सगरमाथाको भ्रमणपछि भने उनी नेपालतिर पनि लोभिएका छन्। उनी अखिल नेपाल फुटबल संघ(एन्फा)ले निम्तो गरेको खण्डमा नेपालमा पनि काम गर्न इच्छुक रहेको बताउँछन्। 'निम्तो गरेको खण्डमा अवश्य नै नाई भन्दिन', जर्मनीको चर्चित केसर्सलाउटर्न क्लबबाट ५ बर्ष बुन्डेस लिगा खेलिसकेका ब्रानर भन्छन्। ब्रानेर फिफाका 'ए' लाइसेन्स होल्डर प्रशिक्षक हुन्। उनले होमबर्ग र केसर्सलाउर्टनजस्ता ख्यातीप्राप्त क्लबलाई प्रशिक्षण दिइसकेका छन्। उनी विगत ३१ बर्षदेखि प्रशिक्षण क्षेत्रमा कार्यरत छन्।

ब्रानेरले गत आइतबार कसैलाई पत्तो नदिई दशरथ रंगशालामा एकै छिन नेपाली फुटबल हेरेका थिए। उनी आफ्ना साथी होल्गर ओभरम्यानका कारण नेपालसंग नजिकिएको बताउँछन्। भन्छन् 'उसले नेपाल र नेपालीहरुको विषयमा थुप्रै कुरा गरेको थियो मसंग।' नेपालको एक साता छोटो बसाईपछि उनी होल्गरको भनाई प्रति सहमत बन्न पुगे। 'साच्चै नै नेपालीहरु खुला हदयका रहेछन।'

उनी पहिलो नेपाल भ्रमणमा पोखराको सारङकोटबाट एकाबिहान हेरेको सूर्योदयलाई अविस्मरणीय सम्झनाको रुपमा लिएर गत विहिबारनै जर्मनीतर्फ लागे। छोरा फ्रान्क भने अन्नपूर्ण क्षेत्र देखेर अवाक बने। अन्नपूर्ण क्षेत्रका नेपाली र यहाँको वस्ती देखेपछि उनलाई लाग्यो, २ सय बर्ष पुरानो ठाउँ पुगेजस्तो। 'वास्तवमै गाउँ र शहरबीच एकदमै ठूलो खाल्डो देखे,' छुटिने बेला उनी भन्दै थिए।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion