English
 
 
Live News
Bookmark and Share
यू— १९ पनि हार्‍यो
 
 
Oct 26, 2009 10:11:41 AM
 

एएफसी यू— १९ च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न समूह 'ए' मा आयोजक नेपाल यू— १६ कै पथमा हिँडेपछि यमनबाट ३-० ले पराजित भएको छ । अब नेपालले मंगलबार किर्गिस्तानविरुद्ध खेल्नेछ ।

एक साताअघि यू— १६ को कमजोर प्रदर्शनलाई बिर्साउने प्रयासमा मैदानमा ओर्लेको यू—१९ टोलीले खेलको ४० औँ मिनेटसम्म पनि यमनलाई चुनौती दियो । गणेश खड्काको आत्मघाती गोलबाट यमनले सुरुवाती अग्रता लियो । हुवैसी वालिदकोे पि|mकिकलाई गणेशले 'क्लियर' गर्न खोज्दा आत्मघाती गोल भएको हो ।

आत्मघाती गोलबाट अग्रता लिएको पाहुना टोलीले त्यसपछि नेपाललाई खेलमा र्फकन मौका दिएन । नेपाली खेलाडीले दोस्रो हाफमा स्वाभाविक खेल देखाउनबाट चुके । खेलाडीले एकपछि अर्को गल्ती गर्दै गएको देखिन्थ्यो । यमनले आत्तिएका नेपाली खेलाडीको मनोविज्ञान बुझेर आक्रामक खेल खेल्यो ।

खेलको ५३ औँ मिनेटमा वालिदकै सुन्दर पि|mकिकमा अल खमरी खालिदले यमनलाई २-० को अग्रता दिलाए । खेलको ६० औँ मिनेटमा इसाम सालेह अहमेदले पेनाल्टी गोलबाट यमनलाई ३-० को स्थितिमा राखे । नीरज मगरले अमान अब्दुलालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाहुना टोलीले पेनाल्टी प्रहार गर्ने मौका पायो । खेलको अन्त्यतिर नेपाली टोलीबाट एकमात्र गोलको प्रयास घाइते खेलाडी नीराजन मल्लले गरे । यसैगरी अर्काे खेलमा ताजिकिस्तानले किर्गिस्तानलाई ४-० र जोर्डनले प्यालेस्टाइनलाई ३-१ ले पाखा लगाए ।

सन्तुष्ट छैन
दशरथ रंगशालामै यू— १६ को लज्जास्पद हारपछि यू— १९ टोलीबाट छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा थियो । उनीहरूले यू— १६ को बिर्सनलायक प्रदर्शनलाई भुलाउने विश्वास गरेका थिए । तर, प्रशिक्ष्ाक राजु शाक्यले सोचेजस्तो खेलाडीले खेलेनन् । खेलपछि पत्रकारसँग कुराकानी गर्दै शाक्यले हारबाट अत्यन्तै दुःखी भएको बताए । खेलाडीको प्रदर्शनबाट खुसी नभएका शाक्यले भावुक हुँदै भने, 'खेलाडीले जितको सट्टा हारको उपहार दिए ।'

खेलाडी आत्तिए
सुरुवातमा नेपाली खेलाडीले निकै आक्रामक खेल खेलेर दर्शकको वाहवाही पाएका थिए । सोही रणनीतिका कारण नेपालले यमनविरुद्ध विजयी हुने अनुमानसमेत गरियो रंगशालामा । गणेशले आत्मघाती गोल गरेपछि नेपाली खेलाडीको खेल एक सामान्य प्रतियोगितामा जस्तो देखियो । नेपाली खेलाडी एक्कासि आत्तिए र खेलको तालमेल क्रमिक रूपमा बिगार्दै गए । प्राविधिक खेल खेल्न सिपालु खेलाडी मुस्किलले एकआपसमा दुई/तीन पास दिन सफल रहे । 'हो, मेरा खेलाडी पहिलो गोलपछि आत्तिए,' प्रशिक्षक शाक्यले भने, 'सजिलै ६-७ पास खेल्नसक्ने खेलाडीले एक-दुई पासमात्र खेले ।'

फेरि अनमार्ककै गल्ती
यू— १६ ले छनोट चरणमा प्रतिस्पर्धा गरिरहँदा यू— १९ का खेलाडी तथा प्रशिक्षकले विपक्षी खेलाडीलाई मार्क नै नगरेकोे प्रतिक्रिया दिएका प्रसंग ताजै छ । यू— १९ को राष्ट्रिय टोलीले कम्तीमा पनि खेलाडीलाई मार्क गर्ने विश्वास प्रशिक्षकलाई थियो । आफ्ना भाइहरूकै पथप्रदर्शनमा लागेपछि यू— १९ खेलाडीले पनि यमनका खेलाडीलाई 'मार्क' गर्न नै बिर्से । विपक्षीलाई खुलस्त डिबक्समा छिर्न तथा गोल गर्न अवसर दिई नै रहे । नेपालले दोस्रो गोल खाँदा पनि खेलाडीलाई अनमार्ककै गल्ती कारण बन्यो ।

विश्वासिला खेलाडी चलेनन्
टोलीका मिडफिल्डर रूपेश केसी, शिव श्रेष्ठ, जगजित श्रेष्ठ, डिफेन्स रोहित चन्द तथा स्ट्राइकर सुजल श्रेष्ठ प्रशिक्षक शाक्यले निकै विश्वास गरेका खेलाडी थिए । उनीहरूकै प्रदर्शनमा विपक्षीलाई पराजित गर्ने योजना उनले बुने पनि । तर, खेल अगाडि बढ्दै जाँदा सबै विश्वास गरेका खेलाडीले सोचेजस्तो नखेल्दा नेपाली टोलीले हारको सामना गर्नुपरेको शाक्यले बताए । 'मैले विश्वास गरेका खेलाडी चल्न नसक्दा हारिएको हो,' उनले भने ।

अन्तर्राष्ट्रिय स्तरको रंगशाला होइन
अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय स्तरअनुरूप मापदण्डको नभएको यमनका प्रशिक्षक सामी हसन अल्नासले दाबी गरेका छन् । 'यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको होइन,' उनले भने, 'यहाँको मैदानको कन्डिसन पनि सोअनुरूपको नभएको पाएँ ।' नेपाली टोलीले राम्रो खेले पनि आफ्ना खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दा टोलीको जित भएको उनले बताए ।

From: Nayapatrika

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion